हिंसा विरुद्धको आवाज बनेकी असई रागनी यादव देशकै उत्कृष्ट प्रहरी घोषित
आइतबार, १४ मंसिर २०८२
सर्लाही ।
महिला हिंसा रोकथामलाई घर–घरमा पुर्याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी-२०८१/८२’ घोषित भएकी छिन् ।
देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ, प्रशंसा-पत्र र ट्रफी प्रदान गर्दै सम्मान गरे। इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख जिम्मेवारी सम्हाल्दै हिंसा पीडितलाई तत्काल उद्धार, कानुनी सहयोग र मनो–सम्बोधन उपलब्ध गराउँदै आएकी छन् ।
सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यो मान्यता मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, हिंसा पीडितको आवाज बनेर काम गर्ने सम्पूर्ण प्रहरीको साझा मेहनत हो ।’
प्रतियोगितामा दोस्रो हुने प्रहरी जवान शान्ता खत्रीले ३० हजार रुपैयाँ र तेस्रो हुने प्रहरी हवलदार उमा तामाङले २० हजार रुपैयाँसहित सम्मान पाए । यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईँलाई जनही १० हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।