Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

ललितपुर-१ मा नेकपा उम्मेदवार महर्जनविरुद्ध असन्तोषको आँधी, क्रिश्चियन मतदाता रिसाउँदा सांसद बन्ने सपना धरापमा


logo

शुक्रबार, १५ फागुन २०८२

30 Shares

नागरिक हब, काठमाडौं ।

ललितपुर-१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुनिल महर्जनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएपछि क्रिश्चियन समुदायभित्र तीव्र असन्तोष र आक्रोश फैलिएको छ ।

समुदायका अगुवा तथा मण्डली प्रतिनिधिहरू तथा आम क्रिश्चियन समुदायले महर्जनमाथि ‘मृत्युलाई समेत शुल्कमा बाँध्ने संरचनाको योजनाकार’ भएको गम्भीर आरोप लगाउँदै असन्तोष व्यक्त गरिहेका भेटिएको छ ।

महर्जन अध्यक्ष रहेको ख्रीष्टियन महासंघ नेपाल नामक धार्मिक संस्थाले गत २०८० माघ ११ गते अघि सारेको समाधिस्थल उपयोग सम्बन्धी नियमावलीका कारण उनीप्रति त्यसबेलादेखि नै क्रिश्चियन समुदाय असन्तुष्ट रहेको बुझिएको छ ।

उनी आबद्ध ख्रीष्टियन महासंघ नेपालले क्रिश्चियन समुदायका व्यक्तिहरुको मृत्यु भएकम महंगो मूल्यमा शव गाड्नको लागि शूल्क निर्धारण गरेका थिए ।

WhatsApp Image 2026-02-27 at 15.32.50

WhatsApp Image 2026-02-27 at 15.32.50 (1)

मृतकको दाहसंस्कारको लागि सार्वजनिक धार्मिक संस्थाले नै लाखौं रकम तोकेर समाधिस्थल निर्माणको नियमावली ल्याउन खोजेपछि तत्कालीन समयमा समेत समुदायबाट उनले चर्को विरोध खेप्नु परेको थियो ।

उक्त नियमावलीमा शव वाहन प्रयोग गर्दा प्रति शव १० हजार रुपैयाँ शुल्क, सभासदस्यताको नाममा १ लाख रुपैयाँसम्म प्रवेश शुल्क, सदस्य परिवारको संख्याअनुसार ५० प्रतिशत अग्रिम रकम अनिवार्य जस्ता विवादास्पद प्रावधान समेटिएका छन् ।

उक्त कदमको चौतर्फी विरोध भएपछि उनले सो नियमावली रद्ध भएको सूचना निकाल्दै सरोकारवालाप्रति चर्को आरोप-प्रत्यारोपसहित क्रिश्चियन समुदायलाई विज्ञप्तिमार्फत् चुनौति दिएका थिए ।

यस्तो छ उनले चुनौति दिएको विज्ञप्ति

 

WhatsApp Image 2026-02-27 at 15.35.53

‘धर्म सेवा कि आर्थिक शोषण?’

नेपाल धर्मनिरपेक्ष देश हो । यहाँ विभिन्न धर्मका मानिसहरु सौहार्दपूर्ण रुपमा मिलेर बसेका छन् । तर त्यही समुदायलाई दुरुपयोग गर्दै आफ्नो महत्वकांक्षाको सिढी बनाउने काम समेत बेलाबेला हुँदै आएको देखिन्छ ।

कसैले हिन्दु राष्ट्रका नाममा त कसैले धार्मिक अल्पसंख्यकका नाममा धर्मलाई राजनीतिक सोपान बनाएको देख्न सकिन्छ । यसकै अर्को उदाहरण सुनिल महर्जन पनि हुन् ।

उनी केही महिनाअघि मात्र पुष्पकमल दाहाल संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका व्यक्ति हुन् । उनले ललितपुर १ मा बाहुल्य संख्यामा क्रिश्चियन मतदाता रहेको र उनीहरुको भोट आफूले पाउने भन्दै प्रतिनिधि सभाको टिकट नै हत्याएको स्रोत बताउँछ ।

चुनावी मैदानमै असन्तोषको आँधी

ललितपुर–१ मा निर्णायक मतदाता मानिने क्रिश्चियन समुदायको असन्तोषले महर्जनको चुनावी गणितमा प्रत्यक्ष असर पार्ने देखिएको छ ।

त्यहाँ पहिलेदेखि नै पार्टी संगठन निर्माणमा सक्रिय भएकाहरुलाई किनारामा पार्दै महर्जनले टिकट हत्याउनुको रहस्य नै क्रिश्चियन समुदायको मत बाहुल्यता भएपनि उनलाई पार्टीकै नेता कार्यकर्ताले समेत मन पराइरहेका छैनन् ।

यद्यपि लाभको लागि अनेक तिकडम गर्न पछि नपर्ने सुनिलविरुद्ध क्रिश्चियन समुदाय नै उत्रिन सक्ने स्थितिले उनलाई थप अप्ठ्यारोमा पार्न सक्ने एक स्थानीय बताउँछन् ।

समुदायका कतिपय अगुवा र मतदाताहरुले घरदैलोमै उनलाई मौन बहिष्कार गरिरहेको बुझिएको छ । 'जनताको पीडा नबुझेको, मृत्युलाई समेत व्यापार बनाउने सोच बोकेको व्यक्ति संसद पुगे के होला ?' एक स्थानीयले भने ।

नेकपामाथि पनि प्रश्न, टिकटको पछाडि ‘भोटको गणित’ ?

सुनिल महर्जनविरुद्ध क्रिश्चियन समुदायभित्र भुसको आगो जसरी फैलिएको विवादसँगै नेकपाको उम्मेदवार छनोट प्रक्रियामाथि पनि प्रश्न उठेको छ । नैतिकता, सामाजिक संवेदनशीलता र समुदायको विश्वास जस्ता विषयमा पार्टीले गम्भीर समीक्षा नगरेको आरोप लाग्न थालेको छ ।

यही समुदायको संगठित असन्तोषले महर्जनको चुनावी गणित उल्ट्याउने जोखिम बढ्दै गएको छ । जसको प्रत्यक्ष नोक्सान पार्टीलाई नै पर्ने देखिन्छ । राजनीतिक विश्लेषकहरू भन्छन्, 'यो सामान्य विवाद होइन, यो नैतिकताको मुद्दा हो ।'

यसबारे प्रतिकृया लिन खोज्दा उम्मेदवार महर्जनसँग भने सम्पर्क हुन सकेन । यो विवादले महर्जनको सांसद बन्ने सपना साकार हुन्छ कि अधुरै रहन्छ - त्यसको फैसला अब मतदाताकै हातमा पुगेको छ ।

प्रतिक्रिया