Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

अपरिचित नम्बरको फोनपछि सुरु भयो किशोरी मृत्युको रहस्य


logo

मङ्गलबार, २६ फागुन २०८२

14 Shares

सुर्खेत। 

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना नाबालग पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जना नाबालगलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको हो। सोही दिन बिहान वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन्।

स्थानीयको सहयोगमा उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा मृतकका आफन्तले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छन्। प्रहरीका अनुसार घटनाको दिन अर्थात् फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ट्युसन जान्छु भन्दै घरबाट निस्किएकी थिइन्

परिवारका अनुसार इनिसा फागुन २३ गते बिहान करिब ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। उनी वीरेन्द्रनगर-६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन्।

सधा झै बिहान ८ बजेसम्म घर फर्किने छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गर्दा मोबाइल स्विच अफ रहेको थियो। केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्, छिटो आउनुस्’ भनेर खबर आएको इनिसाकी आमाले बताइन्।

जनजागरण सामुदायिक वनसँग जोडिएको शहीद पार्क क्षेत्रमा पुग्दा छोरी बेहोस अवस्थामा र शरीरभरि रगत लागेको अवस्थामा फेला परेको उनले बताइन्। छोरीको अवस्था देखेर आफूनै बेहोस भएको उनको भनाइ छ।

बलात्कारपछि हत्या भएको परिवारको दाबी

मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन्। घटनास्थलको अवस्था हेर्दा पनि बलात्कारपछि हत्या गरिएको आशंका बलियो भएको परिवारको भनाइ छ। 

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारणबारे स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार