इनिशाको बलात्कारपछि हत्या भएको पुष्टि
बिहिबार, २८ फागुन २०८२
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका पोष्टमार्टम रिपोर्टपछि इनिशाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो । पोस्टमार्टम रिपोर्ट र पीडकको बयानका आधारमा इनिशाको बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष छ ।
शनिबार (फागुन २३) गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। कर्णाली प्रादेशिक अस्पताल पुर्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको थियो।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ र प्रमाण सङ्कलनको काम भइरहेको छ। दोषी पुष्टि भएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाइएको छ। यसैबीच स्थानीय प्रशासनले बालबालिका तथा महिलाको सुरक्षाका लागि थप सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित परिवारले चार जनाविरूद्ध किटानी जाहेरी दिएको छ। परिवारले जाहेरी दिएपछि चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। बालिकाको मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन गर्न माग गर्दै पीडित परिवारको तर्फबाट बुधबार वीरेन्द्रनगरमा प्रदर्शन भएको थियो। काठमाडौंमा पनि प्रदर्शन भइरहेको छ।