कामना सेवा विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि
आइतबार, ०६ वैशाख २०८३
काठमाडौं ।
कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय वृद्धि भएको जनाएको छ। बैंकले यस अवधिमा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९।३७ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि तथा इम्पेयरमेन्ट चार्जमा कमी आउनु नाफा वृद्धिको प्रमुख कारण हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९।२६ प्रतिशतले वृद्धि भई १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा १८.३४ प्रतिशतले बढेर ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, वितरणयोग्य नाफा भने १६.४६ प्रतिशतले घटेर ४१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) पनि ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ ।
वित्तीय सूचकअनुसार बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० २० रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा पुगेको छ । ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्म बैंकले ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।