ट्राफिक कारबाही, ३१ जनाको लाइसेन्स निलम्बन गर्न सिफारिस
आइतबार, २७ वैशाख २०८३
काठमार्डौं ।
ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नवराज अधिकारीका अनुसार उनीहरूले पाँच पटक भन्दा बढी सवारी नियमको उल्लंघन गरेका छन्।
‘एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका सवारी चालक लाइसेन्स निलम्बनका लागि पठाएका हौं। मापसे, लापसे, र मनलाग्दी चलाउने सवारी चालकहरू छन्,’ उनले भने।
पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले विभिन्न ठाउँमा फेसलेस ट्राफिक म्यानेजमेन्टको व्यवस्था गर्न थालेको छ। ट्राफिक लाइटलाई नियमित रूपमा सञ्चालन गर्ने र नियम उल्लंघन कारबाहीका लागि सिसिटिभीमार्फत निगरानी गरी कारबाही प्रक्रिया अघि बढाइएको एसएसपी अधिकारीले बताए।
चोरी भएका ६५ वटा दुई पांग्रे सवारीसाधन खोजी गरेर ट्राफिक प्रहरीले सवारीधनीलाई फिर्ता गरेको छ। आइतबार एक कार्यक्रमबीच प्रहरीले ६५ वटा सवारीसाधन फिर्ता गरेको ट्राफिक प्रहरीले जानकारी दिएको हो ।