कप्तानगञ्जमा कर्फ्युबीच हिंसा, पसलमा तोडफोड र आगजनी
सोमबार, ११ साउन २०८३
सुनसरी ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि कर्फ्युको उल्लंघन गर्दै प्रदर्शन जारी रहेको छ।
आइतबार रातिको हिंसात्मक झडपपछि जारी गरिएको कर्फ्युलाई चुनौती दिँदै सोमबार बिहानदेखि चार–पाँच सय जनाको समूह सडकमा उत्रिएको थियो। प्रदर्शनकारीले टायर बाल्दै नाराबाजी गरेका छन् भने फार्मेसी, मोटरसाइकल ग्यारेज र किराना पसलसहित पाँच वटा पसलमा तोडफोड र आगजनी गरेका छन्। घटनापछि स्थानीय त्रसित बनेका छन्।
प्रदर्शनको प्रभाव सुनसरीको लौकही र फूलचोकसम्म पुगेको छ। त्यहाँ पनि टायर बालेर प्रदर्शन गरिएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
यसअघि आइतबार राति दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारणसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। यद्यपि कर्फ्यु लागू भए पनि प्रदर्शन नरोकिएपछि सुरक्षा चुनौती बढेको छ।
सुरक्षा निकायले थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रण टोली परिचालन गर्दै अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको जनाएको छ। जिल्ला सुरक्षा समितिले पनि सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको छ।