स्ववियु बानेश्वर क्याम्पसद्वारा गुरु पूर्णिमा तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
बुधबार, १३ साउन २०८३
काठमाडौं ।
स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा गुरु पूर्णिमा तथा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्ववियु अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षतामा तथा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा क्याम्पस प्राध्यापक संघका सभापति सुधिर रिमाल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले गुरु-शिष्य सम्बन्ध ज्ञान, अनुशासन र संस्कारको आधार भएको उल्लेख गर्दै गुरुजनप्रति सम्मान गर्ने संस्कृतिलाई जीवनभर आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षक र विद्यार्थीबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी स्ववियु अध्यक्ष भुमिराज अधिकारीले गुरुहरू समाज र राष्ट्र निर्माणका मार्गदर्शक भएको उल्लेख गर्दै गुरुजनप्रति सम्मान व्यक्त गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले विद्यार्थी हित, शैक्षिक गुणस्तर अभिवृद्धि तथा गुरु-विद्यार्थीबीचको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउन स्ववियु निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षक–शिक्षिका, सम्पूर्ण गुरुवर्ग, कर्मचारी, विद्यार्थी तथा अन्य आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा गुरुजनहरूलाई सम्मान गरिएको थियो भने गुरु पूर्णिमाको महत्व, गुरुको योगदान तथा शिक्षा क्षेत्रको विकासमा उहाँहरूको भूमिकाबारे चर्चा गरिएको थियो।