Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

सरकार मौन रहे आन्दोलन देशव्यापी बनाउने राष्ट्रिय एकता दलको चेतावनी


logo

सोमबार, १८ साउन २०८३

8 Shares

काठमाडौं। 

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सुरु गरेको आमरण अनशन आज पाँचौं दिनमा प्रवेश गरेको छ। काठमाडौंको माइतीघर मण्डलामा जारी अनशनप्रति विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक क्षेत्रका व्यक्तित्वहरूले ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल संवाद र समाधानको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

राष्ट्रिय एकता दलका अनुसार सुनसरी घटनापछि सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागहरूको प्रभावकारी सम्बोधन नभएकाले बाध्य भएर आमरण अनशन सुरु गरिएको हो। दलले यसअघि काठमाडौंमा विरोध प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। निर्धारित समयभित्र कुनै ठोस पहल नभएपछि अध्यक्ष यादव आमरण अनशनमा बसेका हुन्।

अनशनस्थलमा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति निरन्तर रहेको छ। सहभागीहरूले सुनसरी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने, दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने तथा सरकारले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्नुपर्ने माग दोहोर्याएका छन्।

राष्ट्रिय एकता दलले सरकारसमक्ष राखेका मागमा मृतकलाई शहीद घोषणा, घाइतेको पूर्ण उपचार, जिहादी गतिविधिमा संलग्नलाई फाँसीको सजाय दिने कानुन निर्माण, रोहिङ्ग्या तथा बङ्गाली शरणार्थीलाई तत्काल देशनिकाला, मुस्लिम आरक्षण खारेज तथा मुस्लिम आयोग विघटनलगायत विषय रहेका छन्। यी मागहरू तत्काल सम्बोधन गर्न दलले सरकारसँग आग्रह गर्दै आएको जनाएको छ।

यसैबीच, सुनसरी घटनापछि सरकारले पीडित परिवारसँग केही विषयमा सहमति गर्दै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, राहत उपलब्ध गराउने, घाइतेको उपचार गर्ने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको सार्वजनिक भइसकेको छ। तर राष्ट्रिय एकता दलले ती प्रतिबद्धताहरूको पूर्ण कार्यान्वयन नभएको र आफ्ना अन्य मागमा पनि कुनै औपचारिक पहल नभएको दाबी गरेको छ।

अनशन पाँचौं दिनमा पुग्दा अध्यक्ष यादवको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ। दलका नेताहरूले नियमित स्वास्थ्य परीक्षण भइरहेको जनाउँदै सरकारले गम्भीरता नदेखाए अप्रिय अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएकाे छ। उनीहरूले आन्दोलनरत पक्षसँग तत्काल औपचारिक संवाद सुरु गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय एकता दलले सरकारले अझै पनि आफ्ना मागप्रति मौनता कायम राखे आन्दोलनलाई देशव्यापी बनाइने चेतावनी दिएको छ। दलका अनुसार आगामी चरणमा विभिन्न जिल्लामा विरोध प्रदर्शन, धर्ना तथा थप दबाबमूलक कार्यक्रम सार्वजनिक गरिनेछ। साथै, नागरिक समाज, धार्मिक संस्था तथा राजनीतिक दललाई पनि न्याय र निष्पक्ष अनुसन्धानको पक्षमा आवाज उठाउन आह्वान समेत गरेको छ।

समाचार तयार पार्दासम्म माइतीघर मण्डलामा आमरण अनशन शान्तिपूर्ण रूपमा जारी रहेको छ। आन्दोलनका थप कार्यक्रमबारे राष्ट्रिय एकता दलले छिट्टै निर्णय सार्वजनिक गर्ने जनाएको छ भने अनशनका विषयमा सरकारका तर्फबाट कुनै नयाँ औपचारिक धारणा सार्वजनिक भएको छैन।

प्रतिक्रिया