रबिन कुमार नाल्बोको पहलमा बाढीपीडित होटल व्यवसायीका लागि प्रवासमा राहत अभियान
बिहिबार, २५ भदौ २०८३
काठमाडौं ।
गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित होटल तथा पर्यटन व्यवसायीका लागि प्रवासबाट राहत तथा सहयोग जुटाउन अभियान सुरु गरिएको छ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको पहलमा हङकङमा रहेका सामाजिक अभियन्ता, संघका प्रवास सल्लाहकार तथा युवा व्यवसायी रबिनकुमार नाल्बोको अग्रसरतामा राहत संकलन अभियान अघि बढाइएको हो। बाढीपहिरोबाट होटल तथा पर्यटन व्यवसायमा समेत ठूलो क्षति पुगेपछि प्रभावित व्यवसायीलाई तत्काल राहत तथा मानवीय सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ।
संघको २०८३ भदौ १६ गते बसेको पूर्ण कार्यसमिति बैठकले बाढीपहिरो प्रभावित होटल तथा पर्यटन व्यवसायीका लागि राहत संकलन तथा सहयोग परिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रवासमा रहेका नेपाली तथा व्यवसायीबाट सहयोग जुटाउने जिम्मेवारी नाल्बोलाई दिइएको हो।
बाढीपहिरोका कारण कतिपय होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने धेरै व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको संघले जनाएको छ। यस्तो अवस्थामा प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउनुका साथै व्यवसाय पुनःस्थापनामा समेत सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विपद्बाट प्रत्यक्ष प्रभावित होटल व्यवसायीको अवस्था बुझेर राहत तथा मानवीय सहयोगसहित प्रभावित क्षेत्रमा पुग्ने तयारी भइरहेको बताए।
‘यो विपद्को घडीमा प्रभावित व्यवसायीले संयम र धैर्य राख्नुपर्छ। उहाँहरूको दुःखमा जिल्ला होटल व्यवसायी संघ काठमाडौं साथमा छ,’ बरालले भने, ‘प्रत्यक्ष प्रभावित होटल व्यवसायीको अवस्था बुझेर आवश्यक राहत तथा मानवीय सहयोग लिएर छिट्टै प्रभावित क्षेत्रमा पुग्ने तयारी गरेका छौं।’
उनका अनुसार राहत वितरणसँगै बाढीपहिरोबाट होटल तथा पर्यटन व्यवसायमा पुगेको क्षतिको अवस्था अध्ययन गरी व्यवसाय पुनःस्थापनाका लागि समेत आवश्यक पहल गरिनेछ।
राहत अभियानअन्तर्गत प्रवासमा रहेका विभिन्न व्यक्ति तथा व्यवसायीले सहयोग गर्न थालेका छन्। हालसम्म रबिनकुमार नाल्बो, होमराज लाबुङ, सुरेश नाल्बो, लोकराज श्रेष्ठ, प्रकाश आङबुहाङ र शुक्रराज मगरलगायतले सहयोग गरेका छन्।
त्यस्तै राजकुमारी मादेन, कला फेम्बू, प्रबीन नाल्बो, अनमोल तामाङ, नरेन्द्र आङबुहाङ, विजय खडा, देवाशीष पौडेल, एडवर्ड फङ र भोजराज साम्बालगायतले पनि राहत अभियानमा सहयोग गरेका छन्।
संघले प्रवासमा रहेका नेपाली, व्यवसायी तथा शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार स्वेच्छिक सहयोग गरी अभियानमा सहभागी हुन आग्रह गरेको छ। संकलित सहयोग बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित होटल तथा पर्यटन व्यवसायी र उनीहरूका परिवारको उद्धार तथा राहतमा परिचालन गरिने संघले जनाएको छ।