कार्गो गेटमा दशकाैँदेखि एउटै अनुहार: सुरक्षा ड्युटी कि `सेटिङ´काे अखडा ?
बुधबार, ३१ भदौ २०८३
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रको संवेदनशील गेटमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का दुई कर्मचारीमाथि गम्भीर अनियमितता र आर्थिक लाभ लिएको आरोप लागेको छ।
लामो समयदेखि एउटै गेटमा खटिँदै आएका कर्मचारी केशर बहादुर श्रेष्ठ र राम खड्कामाथि यस्तो आरोप लागेको हो।
ती कर्मचारीले ड्युटी समयमा गेट छाडेर अन्यत्र जाने, एक जना बाहिर जाँदा अर्कोले मात्र गेट सम्हाल्ने तथा नियमित ड्युटीमा समेत लापरवाही गर्ने गरेको भन्सार एजेन्टहरुको गुनासो छ।
भन्सार एजेन्टका अनुसार केशर बहादुर श्रेष्ठ ड्युटी समयमै युनिफर्ममै तास खेल्न जाने गरेका छन् ।
नयाँ व्यक्ति वा नयाँ सामान रिसिभ गर्न कार्गो क्षेत्रमा आउनेलाई आफूअनुकूल भन्सार एजेन्टसँग ‘सेटिङ’ गराउने, एजेन्टसँगको समन्वयबाट आर्थिक लाभ लिने तथा भन्सार एजेन्ट र भन्सार कर्मचारीबीच समेत समन्वय गराई लाभ लिने गरेको आरोप लागेको छ। यसले उनीहरूको भूमिका र आचरणमाथि गम्भीर प्रश्न उठेको छ।
१०/१५ वर्षभन्दा लामो समयसम्म एउटै संवेदनशील गेटमा एउटै कर्मचारीलाई निरन्तर जिम्मेवारीमा राखिनु आफैंमा प्रश्नकाे विषय बनेको छ। संवेदनशील विमानस्थल क्षेत्रमा लामो समय एउटै स्थानमा एउटै व्यक्तिको निरन्तर पहुँच रहँदा ‘सेवा’ भन्दा ‘सम्बन्ध र प्रभाव’ बलियो बन्ने जोखिम बढ्छ।
कार्गो गेट प्रवेश नियन्त्रण र विमानस्थल सुरक्षाको महत्वपूर्ण बिन्दु हो, व्यक्तिगत लाभ उठाउने ठाउँ होइन। त्यसैले यी आरोपबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीमाथि कारबाहीकाे माग उठेको छ।
लामो समयदेखि एउटै गेटमा कार्यरत ती दुई कर्मचारीलाई तत्काल अन्यत्र सरुवा गरी नयाँ कर्मचारी खटाउने, विगतको ड्युटी, प्रवेश अभिलेख, CCTV फुटेज तथा सम्बन्धित व्यक्तिसँगको सम्पर्क र गतिविधिमाथि छानबिन गर्नुपर्ने देखिन्छ।
विमानस्थलको सुरक्षा र राज्यको राजस्वसँग जोडिएको कार्गो गेटमा ‘सेटिङ’ होइन, पारदर्शिता र जवाफदेहिता हुनु जरुरी छ।