ठगीको आराेपमा हिमालय हाेटलका सीए सुरेश महर्जन पक्राउ
बिहिबार, ०८ असोज २०८३
काठमाडौं ।
जापानको ओसाका प्रान्तमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेला 'वर्ल्ड एक्स्पो २०२५' मा निर्माण गरिने 'नेपालीज प्याभिलियन' (Nepalese Pavilion) को सञ्चालन तथा व्यवस्थापन विवादमा तानिएको छ। सम्झौता उल्लंघन र वित्तीय लेनदेनमा असमझदारी बढेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालको कला, संस्कृति र मौलिकता प्रवर्धन गर्ने उद्देश्यले जापान सरकारको आमन्त्रणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले मिति २०८० जेठ १६ गते ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्का 'विध म्यानेजमेन्ट प्रा.लि.' र 'ललित मण्डप कला र डिजाइन प्रा.लि.' ले संयुक्त रूपमा (JV) प्राप्त गरेका थिए।
प्रारम्भिक करार अनुसार परियोजनामा विध म्यानेजमेन्टको ७५ प्रतिशत र ललित मण्डपको २५ प्रतिशत लाभांश साझेदारी रहने सहमति भएको थियो। जसमा ललित मण्डपलाई प्रमुख साझेदारका रूपमा मनोनयन गरी कार्यान्वयनको मुख्य दायित्व सुम्पिएको थियो।
लगानी र अधिकार हस्तान्तरणको नयाँ मोड
आयोजनालाई अगाडि बढाउने क्रममा मिति २०८१ भदौ १० गते जेभी (JV) र 'एसजी प्रोजेक्ट कम्पनी प्रा.लि.' का आधिकारिक प्रतिनिधि कर्पु शेर्पाबिच अर्को थप सम्झौता भयो। उक्त सम्झौता अनुसार एसजी प्रोजेक्ट कम्पनीले परियोजनाको १०० प्रतिशत खर्च (लगानी) व्यहोर्ने र प्याभिलियन सञ्चालनका लागि जेभीसँग आवश्यक समन्वय गर्ने तय भएको थियो। यसअघि, २०८० फागुन ३ गते बसेको जेभीको सञ्चालक समिति बैठकले कर्पु शेर्पालाई एक्स्पो सञ्चालन र व्यवस्थापनको अख्तियारी दिने निर्णय गरेको थियो। सोही आधारमा फागुन ७ गते नविन तुलाधर र कर्पु शेर्पालाई संयुक्त रूपमा लगानीको सुनिश्चितता र समन्वय गर्ने अधिकार दिइयो। वित्तीय निर्णयहरूका लागि भने दुवै जनाको संयुक्त सहमति र हस्ताक्षर अनिवार्य गरिएको थियो।
असमझदारीपछि जाहेरी र पक्राउ
सञ्चालन र वित्तीय अधिकार पाए तापनि परियोजना व्यवस्थापन तथा लेनदेनको क्रममा विवाद उत्पन्न भएपछि एसजी प्रोजेक्टका प्रतिनिधि कर्पु शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए ।
शेर्पाले विध म्यानेजमेन्टका तर्फबाट आबद्ध सुरेश महर्जन, जनक खनाल, नविन तुलाधर र विरेन्द्र बज्राचार्यविरूद्ध जाहेरी दिएका थिए। शेर्पाको जाहेरीका आधारमा प्रहरीले ललितपुरस्थित हिमालय होटलबाट सुरेश महर्जनलाई पक्राउ गरेको छ।उनी हिमालय हाेटलकाे सीए समेत हुन् ।
प्रहरीले महर्जनलाई नियन्त्रणमा लिएर घटनाको सत्यतथ्य, वित्तीय लेनदेन र सम्झौता उल्लंघनको विषयमा थप छानबिन तथा अनुसन्धान अगाडि बढाएको छ ।