चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण
आइतबार, १४ भदौ २०८३
काठमाडौं ।
चीन सरकारले नेपालका बाढी तथा विपद् प्रभावितका लागि पठाएको आपत्कालीन राहत सामग्री बोकेका चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा कार्गो विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।
स्थानीय समयअनुसार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमा राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र उद्धार उपकरण समेत ल्याइएको छ।
चीनको छेन्दु शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका विमान करिब तीन घण्टाको यात्रापछि काठमाडौं आइपुगेका हुन्।
चीनले पठाएको राहत सामग्रीमा टेन्ट, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक, प्राथमिक उपचार सामग्रीलगायत १३ हजार २०० थान सामग्री रहेका छन्। सामग्रीको कुल तौल करिब ५० टन रहेको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए। सो अवसरमा नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूको स्वागतसमेत गरिएको थियो।