Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

बुढेसकालको एक मात्रै सहारा छोराको पर्खाइमा बुबा


logo

सोमबार, १५ भदौ २०८३

4 Shares

सिन्धुपाल्चोक । 

भोटेकोशी नदीमा आएको विध्वंसात्मक बाढीपहिरोपछि धेरै परिवार बेपत्ता भएका आफ्ना आफन्तको खोजीमा छन्। यही विपद्को पीडामा छन् सिन्धुपाल्चोक-२, लालबीरु चोक, कोदारीका नारायण लामिछाने। बुढेसकालको एक मात्रै सहारा छोरा श्याम लामिछाने बाढीमा बेपत्ता भएपछि नारायणको नजर अहिले पनि बाटोतिरै छ।

उमेरले नेटो काट्दै जाँदा जीवनभर दुःख-सुखमा साथ दिने र बुढेसकालमा सहारा बन्ने आशा गरेका थिए एक्लो छोरा श्यामलाई। तर, भोटेकोशीमा आएको विध्वंसात्मक बाढीपछि छोराको कुनै खबर नहुँदा बुबा नारायणको मन छटपटिएको छ।

छोराको भविष्यका लागि अनेक दुःख सहेर हुर्काएका आमाबुबाले बुढेसकालमा उसैको सहारामा बाँकी जीवन बिताउने सपना देखेका थिए। तर, विपद्ले त्यो परिवारलाई अहिले गहिरो चिन्तामा धकेलेको छ।

“बुढेसकालमा छोराले सहारा दिन्छ भन्ने लागेको थियो, अहिले त्यही छोराको पर्खाइमा बस्नुपरेको छ,” नारायणको पीडा शब्दमा बयान गर्न कठिन छ।

आमा तीर्थमायाको अवस्था पनि उस्तै छ। आफ्नो काखमा हुर्काएको एक मात्रै छोरा कहाँ छ? भन्ने प्रश्नले उनलाई दिनरात सताइरहेको छ। फोन बज्दा होस् वा बाहिरबाट कोही आएको देख्दा-आमाबुबाको मनले अझै एउटै आशा गर्छ, “छाेरा श्यामको खबर आयो कि?”

भोटेकोशीको बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको खुसी र भविष्यसमेत बगाएको छ। कसैले घर गुमाएका छन्, कसैले आफन्त। नारायण र तीर्थमायाका लागि भने अहिलेको सबैभन्दा ठूलो पीडा बुढेसकालको एक मात्रै सहारा छोरा सम्पर्कविहीन हुनु हो।

उद्धार तथा खोजी कार्य जारी रहेकाले परिवार अझै श्याम सकुशल भेटिने आशामा छ। समय बित्दै जाँदा चिन्ता बढे पनि आमाबुबाको आशा मरेको छैन।

प्रतिक्रिया