Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

भोटेकोशी बाढी: उद्धारमा प्राविधिक चुनौती, अत्याधुनिक उपकरणका लागि अन्तर्राष्ट्रिय सहयोग माग


logo

सोमबार, २२ भदौ २०८३

2 Shares

काठमाडौं ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य थप जटिल बन्दै गएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उद्धार उपकरण र विशेषज्ञ प्राविधिक सहयोग मागेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, दुर्गम भूगोल, पहिरो र बाक्लो लेदोका कारण प्रभावित क्षेत्रमा उद्धारकर्मीको प्रत्यक्ष पहुँच कठिन भएपछि उच्च प्रविधियुक्त उपकरणको आवश्यकता परेको हो।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै सरकारले उच्च क्षमताका ड्रोन, लाइडर प्रविधि, टनेल तथा मड रेस्क्यु सुट र पानी तथा लेदो बाहिर निकाल्ने क्षमताका ठूला पम्प उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

सरकारका अनुसार उच्च क्षमताका ड्रोन र लाइडरमार्फत पहिरोग्रस्त तथा जोखिमयुक्त भूभाग स्क्यान गरी बेपत्ताको सम्भावित स्थान पहिचान गर्न सकिनेछ। त्यस्तै, बाक्लो लेदो र सुरुङभित्र प्रवेश गर्न विशेष उद्धार पोसाक आवश्यक परेको छ।

बाढीका कारण डुबानमा परेका क्षेत्र तथा जलविद्युत् सुरुङभित्र जमेको पानी र लेदो हटाउन उच्च क्षमताका पम्पको माग गरिएको छ। बाढीले क्षति पुर्‍याएका पुलको विकल्पमा सडक सम्पर्क तत्काल पुनःस्थापित गर्न बेली ब्रिज, बेपत्ताको पहिचानका लागि डीएनए परीक्षण किट तथा प्रयोगशाला फ्रिजर पनि सहयोग सूचीमा राखिएको मन्त्रालयले जनाएको छ।

विपद्पछि संक्रमणजन्य रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक चिकित्सकीय तथा स्वास्थ्य सामग्रीसमेत अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छ।

पाँच देशका विशेषज्ञ टोली उद्धारमा

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको समन्वयमा पाँच देशका विशेष टोली परिचालन गरिएको छ। भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेषज्ञ टनेल उद्धार टोलीले उद्धार अभियानमा सहयोग गरिरहेका छन्।

मन्त्रालयका अनुसार टनेलभित्र अझै मानिस फसेको आशंका र बाक्लो लेदोका कारण परम्परागत तथा म्यानुअल उद्धार विधि जोखिमपूर्ण बनेको छ। यस्तो अवस्थामा टनेल रेस्क्यु सुट र लाइडरजस्ता प्रविधि तत्काल उपलब्ध भए खोजी तथा उद्धारलाई थप सुरक्षित र प्रभावकारी बनाउन सकिने सरकारको अपेक्षा छ।

जलविद्युत् आयोजनामा उद्धार तीव्र

बाढीबाट प्रभावित माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली–३(ए), माथिल्लो त्रिशूली-३(बी), चिलिमे, रसुवागढी र लाङटाङलगायत जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।

यी क्षेत्रमा छिमेकी तथा मित्रराष्ट्रबाट प्राप्त उद्धार सामग्री, उच्च क्षमताका ड्रोन र भार बोक्ने उपकरण प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ। थप उपकरण र दक्ष प्राविधिक जनशक्ति पनि परिचालन गर्ने तयारी भइरहेको छ।

शव पहिचानमा अन्तर्राष्ट्रिय फरेन्सिक सहयोग

बेपत्ता व्यक्तिको खोजी र भेटिएका शवको पहिचानका लागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय फरेन्सिक टोलीसँग सहकार्य गरिरहेको छ।

भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक विशेषज्ञले डीएनए नमुना सङ्कलन तथा विश्लेषणमा सहयोग गरिरहेका छन्। यसबाट पहिचान हुन नसकेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच विपद् प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका समकक्षीसँग निरन्तर संवाद गरिरहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया