Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
आइतबार, ०६ वैशाख २०८३
शिक्षा

अभिभावक नभएका बालबालिकालाई निशुल्क शिक्षा


logo

मङ्गलबार, १६ मंसिर २०८२

43 Shares

विराटनगर । 

इलामको रोङ गाउँपालिकाले २१ जना अभिभावकविहीन बालबालिकाको जीवनमा पहिलोपटक स्थिरता, सुरक्षा र भविष्यको आधार थापिदिएको छ । ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ मार्फत पालिकाले अभिभावकविहीन तथा विपन्न बालबालिकाका लागि आशा र भरोसाको नयाँ दियो बालेको हो ।

दुई वर्षअघि उधमशीलता र सामाजिक उत्तरदायित्वलाई जोडेर तयार पारिएको कार्यविधि कार्यान्वयनमा आएको दिनदेखि नै पालिकाले बालबालिकाका जीवनमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही प्रतिवद्धता बिहीबार व्यवहारमै देखियो । जब २१ जना अभिभावकविहीन बालबालिकाले आफूलाई ‘गुमेको’ होइन, ‘गुमेको ठाउँमा हात समात्ने कोही छ’ भन्ने अनुभूति गरे ।

गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष मनिकुमार स्याङ्वोले ती बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै भावुक हुँदै भने,‘यो मेरो ड्रिम प्रोजेक्ट थियो, आज आएर पूरा भएको छ ।’ यसो भनिरहँदा उनको आवाजमा गर्व र जिम्मेवारी दुवै मिसिएको थियो । कार्यक्रमले बालबालिकाको स्वास्थ्य, शिक्षा र आर्थिक सुरक्षाको पूर्ण ग्यारेन्टी गरेको अध्यक्ष स्याङ्वोले जनाए । ‘यी बालबालिकाको सम्पूर्ण उपचार खर्च पालिकाले नै बेहोर्छ । १२ कक्षासम्मको शिक्षा निःशुल्क उपलब्ध गराउँछौं,’ उनले भने, ‘साथै, बैंक खातामा नियमित बचत गर्दै उनीहरूको भविष्य सुरक्षित गर्ने आर्थिक आधार बनाइदिनेछौं ।’

बालबालिकाले तत्कालै उपयोग गर्नुपर्ने आवश्यक सामग्रीको अभाव नहोस् भनेर पालिकाले एक वर्षभरि पुग्ने शैक्षिक सामग्रीदेखि लत्ताकपडासम्म बिहीबारै एक कार्यक्रमबीच हस्तान्तरण गरियो । केहीका हातमा नयाँ झोला, केहीका आँखामा खुसीको आँशु देखिन्थ्यो । ‘अब म पनि सुरक्षित छु भन्ने भएको छ,’ एक विद्यार्थीले सामान पाएपछि भावुक हुँदै सुनाए, ‘बा आमा नभए के भो र, हाम्रो स्थानीय सरकार छ नि ।’पालिकाको यो पहलले अभिभावकविहीनलाई सहयोग मात्र दिएको छैन, आत्मविश्वास र सम्मानसहित बाँच्ने साहस पनि जगाइदिएको छ । आफ्नो भविष्य अनिश्चित देखिरहेका यी बालबालिकाका लागि यो कार्यक्रमले जीवनको मोड नै बदल्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले अब कार्यक्रमलाई थप मजबुत बनाउन दाताहरूसमेत आह्वान गर्ने तयारी गरेको उपाध्यक्ष विष्णुमाया खवासले जनाइन् । उनका अनुसार अब बालबालिकालाई उद्यमसँग समेत जोड्ने कार्यक्रम चाँडै ल्याइनेछ । सँगै विद्यार्थी प्रोत्साहन कार्यक्रम समेत सार्वजनिक गरी उनीहरुलाई थप सहयोग गर्ने पालिकाको लक्ष्य छ । भनिन्,‘अभिभावक नभएका यी बालबालिकालाई राज्यको जिम्मेवारी र समाजको साथ दिने वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो ।’ पर्वत पोर्तेल कान्तिपुर

प्रतिक्रिया