भोटखोलावासीका लागि भव्य भोटे नृत्य प्रतियोगिता काठमाडौंमा हुँदै
आइतबार, ०८ चैत २०८२
काठमाडौं।
भोटखोला अक्षयकोषद्वारा भोटखोलावासीहरूका लागि काठमाडौंमा खुला भोटे नृत्य प्रतियोगिता तथा तेस्रो बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
खुला भोटे नृत्य प्रतियोगिता तथा तेस्रो बृहत् सांस्कृतिक कार्यक्रम २०८२ साल चैत १३ र १४ गते सञ्चालन हुने आयोजकले जनाएको छ। १५ देखि ३० वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरिएको कार्यक्रम कपन क्षेत्रमा आयोजना गरिनेछ।
भोटखोलाको मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। यसै सन्दर्भमा आयोजकले नागरिकहबसँग कुरा गर्दै काठमाडौंमा रहेका सम्पूर्ण भोटखोलावासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
भोटखोला अक्षयकोषको आयोजनामा काठमाडौंमा हुने खुला भोटे नृत्य प्रतियोगितामा प्रथम हुने समूहले रु २१,१०० नगदसहित शिल्ड प्राप्त गर्नेछन्। दोस्रो हुने समूहले रु १२,१००, तेस्रो हुने समुहले रु ९,१०० पाउने छन्। सान्त्वना हुनेले रु ७,१०० प्राप्त गर्ने छन् । साथै प्रत्येक सहभागीलाई रु ५,००० प्रोत्साहन स्वरुप प्रधान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि फारम शुल्क रु २,००० तोकिएको छ।
प्रतियोगिताका लागि ८ जनाको समूह अनिवार्य हुने, प्रस्तुति १० मिनेटभित्र पुरा गर्नुपर्ने तथा गीत९नृत्य परम्परागत र सबैले बुझ्ने खालको हुनुपर्ने नियम तय गरिएको छ। निर्णायक मण्डलको निर्णय अन्तिम हुने पनि आयोजकले स्पष्ट पारेको छ।
यस्ता सांस्कृतिक कार्यक्रमले युवापुस्तामा परम्परागत कला तथा पहिचानप्रति आकर्षण बढाउने विश्वास आयोजकको छ।