Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

हिजोका शासकहरूले खोटाङलाई हेपे : सांसद आर्यन राई


logo

शनिबार, २८ चैत २०८२

4 Shares

काठमाडौं ।
श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आर्यन राईले जिल्लामै सामान्य सेवा–सुविधा प्राप्त हुन नसक्दा नागरिकहरूलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको बताएका छन्।

खोटाङ सेवा समाजद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खोटाङबाट सेवा–सुविधाका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

सांसद राईले खोटाङको विकास र समृद्धिका लागि आफू मात्र नभई सबैको साझा सहभागिता आवश्यक रहेको बताए।

नेपालको ठूलो भू-भाग पहाडी क्षेत्रमा पर्ने उल्लेख गर्दै उनले भने, “खोटाङ पूर्वको कर्णाली हो। खोटाङ हरेक दृष्टिले पछि परेको छ।” खोटाङको विकास नहुनुमा विगतका नेता, नेतृत्व र शासकहरूको भूमिका रहेको आरोप लगाउँदै उनले भने, “हिजोका नेता र शासकहरूले वास्तवमै खोटाङलाई हेपेका हुन्।” 

उनले खोटाङमै शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अन्य वक्ताहरूले पनि दीर्घकालीन विकासका लागि स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने धारणा राखे। उनीहरूले जिल्लाको पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनामा राज्यसँगै निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।

भक्तपुरको सल्लाघारीमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष तथा नायक नवल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमाननीय विशाल भट्टराई, सरस्वती बजिमय लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा कलाकार, खोटाङबाट काठमाडौं आएर बसेका पेशाकर्मी, व्यवसायी, विद्यार्थी, पत्रकार तथा विभिन्न राजनीतिक दलमा आबद्ध खोटाङवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रममा एक हजारभन्दा बढीको उपस्थिति थियो। गायक–गायिकाहरूको सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा खोटाङको समग्र विकासका लागि साझा धारणा निर्माण गर्दै जिल्लामा सेवा-सुविधा विस्तार गर्ने दिशामा सहकार्यको सन्देश दिइएको छ। सहभागीहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ठोस कार्ययोजनासहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया