टिबी पत्ता लगाउन नसक्ने दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलले लाखौँ लुट्यो, वीर अस्पतालले बचायो प्राण
शुक्रबार, २५ वैशाख २०८३
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः विवादमा तानिएका छन् । यसपटक उनको झापास्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल मा उपचार गराएका एक बिरामीले गलत उपचारका कारण आफ्नो स्वास्थ्य गम्भीर अवस्थामा पुगेको आरोप लगाएका छन् ।
३५ वर्षीय सुसील तामाङ अर्थात् डुप्छेन लामाले बी एण्ड सी अस्पतालमा चार महिनासम्म उपचार गराउँदा पनि रोग पहिचान हुन नसकेको बताएका छन् । हिँडडुल गर्न गाह्रो हुने र खाना नरुच्ने समस्या देखिएपछि उनी २०८१ फागुन २५ गते उपचारका लागि बी एण्ड सी पुगेका थिए । तर, उपचारका क्रममा पेटको समस्यामा टाउकोको एमआरआई गर्न लगाइएकोदेखि लिभर खराब भएको भन्दै विभिन्न रिपोर्ट थमाइएको सुसीलको आरोप छ ।
सुशीलका अनुसार उपचारकै क्रममा सुसीलको तौल ६० किलोबाट घटेर करिब ३० किलोमा पुगेको थियो । उपचारमा झण्डै पाँच लाख रुपैयाँ खर्च हुँदा पनि रोग पत्ता नलागेपछि उनी काठमाडौं ल्याइएका थिए । पछि वीर अस्पताल मा गरिएको परीक्षणमा उनको पेटमा क्षयरोग (टीबी) भएको पत्ता लागेको सुसीलले बताए । वीर अस्पतालमा उपचार सुरु गरेको एक हप्तामै स्वास्थ्यमा सुधार आएको र त्यसपछि उनले ९ महिना औषधि खानु परेको भन्दै आक्रोश पोखे ।
मेडिकल व्यवसायी प्रसाईंको हस्पिटलले उपचारमा लापरबाही गरेको दाबी गर्दै आर्थिक तथा मानसिक क्षति भएको सुसीलको दाबी छ । उनीहरूले अस्पताल प्रशासन र सञ्चालक प्रसाईंसँग सहयोगको अपेक्षा समेत गरे तर पछि अपेक्षित प्रतिक्रिया नपाएको गुनासो उनको छ ।
यता, प्रसाईंले भने यस विषयमा खासै वास्ता दिएनन् । पहिल्यैको कुरा यतिबेला नगर्न आग्रह गर्छन् । प्रसाईंले अस्पतालको बिल नतिरी बिरामी गएको आरोप समेत लगाएको पीडित पक्षको भनाइ छ ।
बी एण्ड सी अस्पतालको सेवा, उपचार पद्धति तथा व्यवस्थापनमाथि यो प्रतिनिधि घटनाले प्रश्न उठेको छ ।
हेर्नुहोस् भिडियो