डीडीसीका कर्मचारीको ब्रह्मलुट: ‘फ्रि सुविधा’ रोक्दा ३ करोड बचत
आइतबार, १० जेठ २०८३
काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीहरूलाई सित्तैमा दूध र घिउ लैजान रोक लगाएको छ।
वर्षौंदेखि घाटामा रहेको संस्थानमा कर्मचारीले भने संस्थानका उत्पादन सित्तैमा उपभोग गर्दै आएको पाइएपछि मन्त्रालयले कर्मचारीले पाउदै आएको सुविधामा रोक लगाउने निर्णय गरेको हो।
संस्थान वर्षौंदेखि घाटामा, किसानहरू दूधको भुक्तानी नपाएर छटपटीमा रहेका बेला कर्मचारीले अनावश्यक सुविधा लिइरहेको र नियम विपरीत दैनिक रूपमा दूध र मासिक रूपमा घिउ सित्तैँमा घर लैजाने गरेको पाइएपछि मन्त्रालयले ठाडो हस्तक्षेप गरेको हो।
कृषिमन्त्री गीता चौधरीको यो निर्णयसँगै संस्थानले वार्षिक २ करोड ८५ लाख रुपैयाँ जोगिने भएको छ । मन्त्रलयका अनुसार कर्मचारीको सुविधा कटौतीबाट जोगिएको रकमले किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने छ।