Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

आईजीपी कार्कीमाथिको आरोपलाई सामाजिक सञ्जालको हल्लाबाट सत्यजस्तो स्थापित गर्नु गलत : इन्द्र भुसाल


logo

बुधबार, ३१ भदौ २०८३

2 Shares

काठमाडौं । 

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता इन्द्रकुमार भुसालले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लगाइएका अप्रमाणित आरोपलाई सामाजिक सञ्जालको होहल्लामार्फत सत्यजस्तो स्थापित गर्न खोज्नु अनुचित भएको बताएका छन्।

भुसालले राष्ट्रसेवकको वर्षौँको निष्ठा, कर्तव्य र योगदानलाई प्रमाणित नभएका आरोपका आधारमा कठघरामा उभ्याउन नहुने धारणा व्यक्त गरेका छन्। नागरिकको सुरक्षा र शान्तिका लागि दिनरात खटिने प्रहरी नेतृत्वमाथि निरन्तर प्रश्न उठाइँदा त्यसको पछाडि वास्तविक आक्रोश मात्र हो वा कुनै स्वार्थबाट निर्देशित प्रयास पनि भइरहेको छ भन्ने विषयमा समेत गम्भीर बहस आवश्यक रहेको उनको भनाइ छ।

उनले सार्वजनिक पदमा रहेका व्यक्तिको काम र निर्णयमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार भए पनि व्यक्तिगत प्रतिष्ठामाथि आरोप लगाउँदा तथ्य र प्रमाण आवश्यक पर्ने बताए। निष्पक्ष छानबिन तथा कानुनी प्रक्रियाभन्दा सामाजिक सञ्जालमा सिर्जित भीडको धारणा नै न्यायको आधार बन्न नहुनेमा उनले जोड दिएका छन्।
“आरोप लगाउनु र प्रश्न उठाउनु लोकतन्त्रको अधिकार हो, तर आरोपलाई प्रमाणित तथ्यजस्तो प्रस्तुत गर्नु न्यायसंगत हुँदैन,” भुसालले भने।

नेपाल प्रहरी कुनै व्यक्ति वा समूहको निजी संस्था नभई राष्ट्रको सुरक्षा, कानून कार्यान्वयन र नागरिकको भरोसासँग जोडिएको संवेदनशील संस्था भएको उल्लेख गर्दै उनले प्रहरी संगठनको मनोबल कमजोर पार्ने गतिविधिले अन्ततः नागरिकको सुरक्षा प्रणालीप्रतिको विश्वासमै असर पार्न सक्ने बताए।

भुसालले सामाजिक सञ्जालमा फैलिएका दाबी र आरोपलाई तत्काल सत्य मानेर निष्कर्षमा पुग्नुभन्दा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र तथ्यको परीक्षण हुनुपर्ने धारणा राखे। उनले भने,“सत्यलाई स्थापित गर्न भीड होइन, प्रमाण पर्याप्त हुन्छ,”।

प्रतिक्रिया