Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता


logo

शुक्रबार, ०९ असोज २०८३

10 Shares

न्यूयोर्क।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार साँझ भेटवार्ता भएको छ।

राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) दुई नेताबीच संवाद भएको हो।

भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालको पक्षमा ऐक्यबद्ध रहेको प्रतिबद्धता जनाउनुभयो। सन् १९७८ मा पर्यटकका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै उहाँले पदमुक्त भएपछि पनि नेपालप्रतिको सहयोग निरन्तर रहने बताउनुभयो। साथै, महासचिव गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा गर्नुभयो।

सो अवसरमा प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै महासचिवको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भोटेकोशी विपद्का कारण मुलुकले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालमा हिमताल फुट्ने जोखिम अझै उच्च रहेको तर्फ महासचिवको ध्यानाकर्षण गराउनुभयो।

भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माणका प्रयासहरू तथा अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिका लागि समयसीमा थप गर्नेसम्बन्धी विषयमा गहन छलफल भएको थियो।

प्रतिक्रिया