Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
राजनीति

अब काम गर्ने बेला आएको छ : उम्मेदवार अधिकारी


logo

मङ्गलबार, ०६ माघ २०८२


काठमाडौं ।

कुलमान घिसिङ नेतृत्वको पार्टी ‘उज्यालो नेपाल’का उम्मेदवार जेबी अधिकारी (दीपक)ले काठमाडौं क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार बिहान बूढानीलकण्ठ नगरपालिका-२ स्थित निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

अधिकारीले समर्थक, शुभेच्छुक र मतदातासहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए। मनोनयनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पुराना राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई आश्वासन मात्र दिएको तर, व्यवहारमा परिवर्तन ल्याउन नसकेको आरोप लगाए।‘उज्यालो नेपाल’ पार्टीले काठमाडौं-४ का जनताको सेवामा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

काठमाडौं-४ का जनतासँग निर्वाचनमा जिताउन आग्रह गर्दै उनले भने 'यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा मलाई जिताउनुहोस्, यस क्षेत्रका जनताको भविष्य बदल्ने छु।' 

उनले पुराना दलका कारण जनतामा निराशा बढेको र धेरै जनताले दुःख-कष्ट भोग्न बाध्य भएको उल्लेख गरे। अब त्यस्तो अवस्थाको अन्त्य गर्दै काठमाडौं-४ का जनताको अनुहारमा खुशी ल्याउने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारे।

अधिकारीले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, सबै वर्ग, क्षेत्र र समुदायका नागरिकले राज्यका स्रोत-साधन, अधिकार र अवसरमा समान पहुँच र न्यायको अनुभूति गर्ने वातावरण बनाउने आफ्नो मुख्य एजेन्डा रहेको जनाए । 

पार्टीको ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ भन्ने नारालाई आत्मसाथ गर्दै उनले सुशासन र सन्तुलित विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। जनमुखी नीति, पारदर्शिता र जवाफदेहितामार्फत जनताको भरोसा जित्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो।

प्रतिक्रिया